काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसको नतिजा अत्यन्तै निराशाजनक देखिएको छ। अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिट जित्दै पहिलो पार्टी बनेको कांग्रेस यसपटक भने निकै कमजोर अवस्थामा पुगेको छ। हालसम्मको परिणामअनुसार कांग्रेसले १४ स्थानमा मात्र विजय हासिल गरेको छ भने केही सिटमा मात्रै अग्रता कायम गरेको छ।
देशभरबाट प्राप्त पछिल्लो मतपरिणामले कांग्रेस नेतृत्वलाई झस्काएको छ। ‘रूख’ चिन्हमा खस्ने मत उल्लेख्य रूपमा घटेको र परम्परागत गढहरू समेत भत्किएको संकेत नतिजाले देखाएको छ।
नतिजा कमजोर भए पनि कांग्रेसले भौगोलिक उपस्थितिको हिसाबले भने सन्तुलन कायम राखेको छ। एमालेलगायत अन्य परम्परागत शक्ति केही निश्चित भूगोलमा सीमित हुने संकेत देखिँदा कांग्रेसले भने थोरै सिट भए पनि सातै प्रदेशमा प्रतिनिधित्व जोगाएको छ। हालसम्म जितेका १४ सिटले सातै प्रदेशमा पार्टीको उपस्थिति सुनिश्चित गरेका हुन्।
कुन प्रदेशमा को विजयी ?
हालसम्मको परिणामअनुसार कोशी प्रदेशबाट कांग्रेसले तीन सिट, मधेसबाट एक सिट, बागमतीबाट एक सिट, गण्डकीबाट दुई सिट, लुम्बिनीबाट एक सिट, कर्णालीबाट चार सिट र सुदूरपश्चिमबाट दुई सिट जितेको छ।
कोशी प्रदेशअन्तर्गत पाँचथर–१ बाट नरेन्द्रकुमार केरुङ र तेह्रथुम–१ बाट सन्तोष सुब्बा निर्वाचित भएका छन्।
मधेस प्रदेशमा कांग्रेसलाई ठूलो धक्का लागे पनि रौतहट–२ बाट मो. फिरदोस आलम विजयी हुँदै मधेसमा पार्टीको प्रतिनिधित्व सुनिश्चित गरेका छन्।
बागमती प्रदेशमा रसुवाबाट मोहन आचार्य विजयी भएका छन्। गण्डकी प्रदेशका हिमाली जिल्लामा रहेको परम्परागत गढलाई कांग्रेसले जोगाएको छ। मुस्ताङबाट २९ वर्षीय युवा योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशमा कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह र पाल्पा–१ बाट सन्दीप राना विजयी भएका छन्।
कर्णाली प्रदेशमा भने कांग्रेसको उपस्थिति तुलनात्मक रूपमा बलियो देखिएको छ। सुर्खेत–१ बाट विष्णुबहादुर खड्का, जाजरकोट–१ बाट खडकबहादुर बुढा, दैलेख–१ बाट वासना थापा र हुम्ला–१ बाट जयपति रोकाया विजयी भएका छन्।
सुदूरपश्चिम प्रदेशमा डोटी–१ बाट भरतबहादुर खड्का र अछाम–१ बाट भरतकुमार स्वार निर्वाचित भएका छन्। जारी मतगणनामा सोलुखुम्बु र बाजुरा गरी दुई स्थानमा कांग्रेसले अग्रता कायम राखेको छ।




