काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा सबै मतपेटिका सदरमुकाम नआइपुगेकाले मतगणना सुरु हुन सकेको छैन। उत्तरी गोरखाको दुर्गम क्षेत्रबाट मतपेटिका ढुवानीमा ढिलाइ हुँदा गणना प्रक्रिया भोलि मात्रै सुरु हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठका अनुसार चुमनुव्री गाउँपालिकाका केही मतदान केन्द्रका मतपेटिका अझै संकलन हुन बाँकी छन्। उक्त गाउँपालिकामा कुल २३ मतदान केन्द्र रहेका छन्। तीमध्ये हालसम्म ९ केन्द्रका मतपेटिका मात्र सदरमुकाम आइपुगेका छन् भने १४ केन्द्रका मतपेटिका ल्याउन बाँकी रहेको उनले जानकारी दिए।
शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका ढुवानी सुरु गरिएको भए पनि खराब मौसमका कारण सबै स्थानबाट ल्याउन सम्भव नभएको बताइएको छ। नाम्रुङ, प्रोक र सिर्दिवास क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याउन अझै बाँकी रहेको प्रशासनले जनाएको छ। मौसम सुधार भएमा शनिबार बिहानै हेलिकप्टरमार्फत बाँकी मतपेटिका सदरमुकाम ल्याइने र त्यसपछि मात्र मतगणना प्रक्रिया सुरु गरिने अधिकारीहरूले बताएका छन्।




