काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा पास नभएका सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सवारी पास भएका गाडीलाई मात्र आवागमनको अनुमति दिइएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार निर्वाचन आचारसंहिता विपरीत सञ्चालन भएका सवारीसाधनलाई नियन्त्रणमा लिएर होल्ड गरिएको छ। उनले आवश्यक अनुमति बिना सवारी चलाउने चालकलाई कारबाही गरिएको जानकारी पनि दिए।
यद्यपि एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीसाधनलाई भने सञ्चालनमा सहजीकरण गरिएको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई आवश्यक कारण देखाएमा सहुलियत दिइएको ट्राफिक प्रहरीले जनाएको छ।
बिहीबार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन भइरहेकाले सुरक्षा व्यवस्थालाई कडा बनाइएको हो। प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सिट समानुपातिक प्रणालीबाट चयन हुनेछन्।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन देशभर करिब तीन लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।




