काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकतावाद (एनार्किजम) मुलुकको राजनीतिक स्थायित्वका लागि चुनौतीपूर्ण प्रवृत्तिका रूपमा देखापरेको बताएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले लोकतन्त्रलाई सही दिशामा अघि बढाउने विश्वासका साथ आफूले मतदान गरेको उल्लेख गर्दै पछिल्लो समय समाजमा देखापरेका केही प्रवृत्तिले राजनीतिक स्थायित्वमा असर पार्न सक्ने संकेत गरेका छन्। उनका अनुसार पपुलिजम र अराजकतावाद जस्ता प्रवृत्तिहरूले दीर्घकालीन रूपमा लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन सक्छन्।
पोखरेलले एकै निर्वाचनबाट सबै समस्याको समाधान हुने सुनिश्चितता नभए पनि यसले मुलुकलाई सही दिशातर्फ अघि बढाउने आधार तयार पार्ने विश्वास व्यक्त गरे। उनका अनुसार आगामी दिनमा लोकतन्त्रले थप मजबुती र स्थायित्व प्राप्त गर्ने आधार पनि यही प्रक्रियाबाट तयार हुन सक्छ।
त्यस्तै उनले विचारधारात्मक आधारमा उभिएका प्रमुख राजनीतिक दलहरू नै अन्ततः निर्वाचनमार्फत मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको बताए।
मुलुकलाई अराजकता र विध्वंसतर्फ धकेल्ने प्रयास दीर्घकालीन राष्ट्रिय हितविपरीत हुने भन्दै उनले नेपाली मतदाताले यस विषयलाई बुझेर निर्णय गर्ने विश्वास पनि व्यक्त गरेका छन्।




