देश

मध्यपूर्वको तनावप्रति चिन्ता बढ्दै, नेपालीको सुरक्षा र उद्धारमा सरकारलाई एनआरएनएको आग्रह

काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित युद्धजन्य परिस्थितिका कारण त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षालाई लिएर चिन्ता बढेको छ। यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपाल सरकारलाई कूटनीतिक तथा सुरक्षा पहल तीव्र बनाउन आग्रह गरेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मध्यपूर्वका विभिन्न मुलुकमा बढ्दो सैन्य गतिविधि, बम वर्षा र क्षेप्यास्त्र आक्रमणका घटनाले त्यहाँ रहेका नेपाली समुदायमा त्रास उत्पन्न भएको जनाएको छ। संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित कूटनीतिक नियोगसँग समन्वय गरी तत्काल सुरक्षा संयन्त्र सक्रिय बनाउन आग्रह गरेको हो।

मध्यपूर्व संयोजक रमेश श्रेष्ठले परराष्ट्र मन्त्रीसँगको समन्वयमा नेपालीको सुरक्षा, आपत्कालीन हटलाइन र सम्भावित उद्धारको तयारी गर्नुपर्ने आवश्यकताबारे ध्यानाकर्षण गराएका छन्। संघका अनुसार संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, ओमान, कुवेत र बहराइनलगायत देशमा करिब २० लाखभन्दा बढी नेपाली विभिन्न पेशा–व्यवसायमा कार्यरत छन्।

अबुधाबी विमानस्थल क्षेत्रमा भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ। उक्त घटनापछि मध्यपूर्वमा रहेका नेपाली समुदायमा थप असुरक्षाको भावना बढेको बताइएको छ।

भर्चुअल माध्यमबाट बसेको परिषद्को बैठकले अवस्थालाई गम्भीर रूपमा मूल्याङ्कन गर्दै केही महत्वपूर्ण निर्णय गरेको जनाएको छ। बैठकले युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षित स्थानमा रहन सुझाव दिएको छ।

संघले नेपाल सरकारसँग समन्वय गरी २४ सै घण्टा सञ्चालन हुने हटलाइन सेवा सुरु गर्ने प्रस्ताव अघि सारेको छ। साथै मध्यपूर्वमा रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अभियन्ताहरूलाई सक्रिय परिचालन गरी आपत्कालीन सूचना आदान–प्रदान र राहत समन्वयलाई प्रभावकारी बनाउने योजना रहेको बताइएको छ।

यदि परिस्थिति थप जटिल बन्दै गएमा कूटनीतिक पहलमार्फत प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई व्यवस्थित र सुरक्षित रूपमा स्वदेश फर्काउने तयारी गर्न पनि सरकारलाई आग्रह गरिएको छ। मध्यपूर्व संकट गहिरिँदै जाँदा नेपाली समुदायको सुरक्षा प्रमुख प्राथमिकतामा राख्नुपर्ने संघको जोड छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *