देश

सामाजिक सञ्जालमा अभिव्यक्ति प्रकरणपछि मकवानपुरमा युवक पक्राउ, साईबर मुद्दा दायर

काठमाडौं । राजनीतिक दलको नाम उल्लेख गरी सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गरेपछि मकवानपुरका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मकवानपुरगढी गाउँपालिका–६ का स्थानीय प्रकाश पाण्डे हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका छन्।

पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित भन्दै सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गरेको विषयलाई लिएर दलका तर्फबाट किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन्। मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश गौतमले पाण्डेविरुद्ध उजुरी दिएका थिए।

प्रहरीका अनुसार भिडियो सन्देशमा दलको छवि र गतिविधिबारे टिप्पणी गरिएको विषय उजुरीको आधार बनेको हो। यद्यपि पाण्डेले सार्वजनिक अभिव्यक्तिमा प्रत्यक्ष उम्मेदवारलाई लक्षित नगरेको दाबी उनका समर्थकहरूले गर्दै आएका छन्।

पक्राउपछि उनलाई साईबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी आठ दिनदेखि हिरासतमा रहेको बताइएको छ।

यस घटनाले जिल्लामा राजनीतिक बहस चर्काएको छ। स्थानीय केहीले अभिव्यक्ति स्वतन्त्रताको विषय उठाउँदै सामान्य आलोचनामै कानुनी कारबाही आवश्यक नभएको प्रतिक्रिया दिएका छन् भने दलका पक्षधरले भने सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार बन्नुपर्ने तर्क गरेका छन्।

प्रकरणपछि सम्बन्धित क्षेत्रमा राजनीतिक सरगर्मी बढेको छ। उक्त घटनाले निर्वाचनपछिको राजनीतिक वातावरणमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *