काठमाडौँ । बालेन्द्र साहले मुलुकको वर्तमान अवस्था बन्द अवस्थामा रहेको उद्योग–कारखानाजस्तै भएको टिप्पणी गर्दै अब सञ्चालन र पुनरुत्थानको दिशामा अघि बढाउनुपर्ने बताएका छन्।
चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले दक्ष जनशक्ति, स्रोतसाधन र प्राकृतिक सम्पदा हुँदाहुँदै पनि कतिपय उद्योग बन्द अवस्थामा रहेको उदाहरण दिँदै राज्य संरचनाको प्रभावकारितामाथि प्रश्न उठाए। उनले हेटौँडा सिमेन्ट उद्योगको प्रसङ्ग उल्लेख गर्दै मुलुकलाई सक्रिय र उत्पादनमुखी बनाउनुपर्ने धारणा राखे।
उनले नेपाली कांग्रेसको ‘वाईवाई’ फ्याक्ट्रीको उदाहरण दिँदै देशभरका उद्योग–कारखाना सञ्चालन गरी उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए। “बन्द भएका सबै उद्योग सञ्चालन गर्ने र नयाँ औद्योगिक संरचना निर्माण गर्ने हाम्रो योजना हो,” उनले भने।
साहले आफ्नो पार्टीको चुनावी चिन्ह ‘घण्टी’ मा मतदान गर्न आग्रह गर्दै पार्टी नेतृत्व चितवनबाटै उम्मेदवार रहेकाले स्थानीय मतदाताले चिन्ता लिन नपर्ने बताए। उनले समग्र अर्थतन्त्रलाई गतिशील बनाउने र रोजगारी सिर्जना गर्ने एजेन्डा नै आफ्नो प्राथमिकता रहेको दाबी गरे।




