बेलबारी (मोरङ)। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा चुनावी प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र दुई पटक निर्वाचित भई ह्याट्रिकको दाउमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमनलाल मोदी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
विगतका दुई निर्वाचनमा गठबन्धनमार्फत विजयी बनेका मोदी यस पटक एक्लै प्रतिस्पर्धामा छन्। उता, हालै कांग्रेस महामन्त्री बनेका घिमिरे पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन्।
विसं २०७९ को निर्वाचनमा कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको गठबन्धनबाट मोदी ३० हजार ६१२ मतसहित विजयी भएका थिए। समानुपातिकतर्फ भने कांग्रेसले १९ हजार ५५५ मत पाएको थियो। त्यतिबेला एमालेले १८ हजार ३८६ र माओवादी केन्द्रले नौ हजार ७६० मत ल्याएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार २७० मत प्राप्त गरेको थियो।
यस क्षेत्रमा कुल एक लाख १९ हजार २५५ मतदाता रहेका छन् भने यस पटक नौ हजार ७८ मतदाता थपिएका छन्। २०७४ र २०७९ दुवै निर्वाचनमा विजयी मोदी यस पटक पनि जित आफ्नै पक्षमा आउने दाबी गर्छन्।
एमालेबाट पूर्वप्रदेशमन्त्री जीवन घिमिरे पनि चुनावी मैदानमा छन्। पार्टी सङ्गठन र आफ्नो अनुभवका आधारमा परिणाम आफ्नो पक्षमा आउने उनको विश्वास छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीले भने पुराना दलहरूले विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणमा अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै मतदाता परिवर्तनको पक्षमा उभिएको दाबी गरेका छन्।
कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका मोरङ–४ मा प्रचारप्रसार तीव्र बनेको छ।




