राजनीति

‘पाँच दिनमै पहिलो शक्ति बन्छौँ’ : दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले परम्परागत शक्ति मानिएका दलहरू कमजोर बन्दै जाँदा नेकपाप्रति जनआकर्षण बढिरहेको दाबी गरेका छन्।

शुक्रवार नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले काँग्रेस–एमाले रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे। उनका अनुसार अन्य दलहरू बचाउमा केन्द्रित भइरहँदा नेकपा भने “आक्रामक राजनीतिक अभियान”का साथ अघि बढिरहेको छ।

दाहालले पार्टीले अघि सारेका नीति, योजना र कार्यक्रमलाई स्वाधीनता र जनहितसँग जोड्दै त्यसले नै देशको नेतृत्व गर्न सक्ने दाबी गरे। उनले आगामी पाँच दिनलाई निर्णायक समयका रूपमा चित्रण गर्दै घरघरमा पुगेर मतदातालाई आफ्नो एजेन्डा स्पष्ट पार्न कार्यकर्तालाई आह्वान गरे।

“नेपाली कम्युनिष्ट पार्टी महाअभियानका रूपमा निर्वाचनमा उभिएको छ। अन्य दलहरू रक्षात्मक छन्, हामी मात्रै आक्रामक ढङ्गले अघि बढिरहेका छौँ,” उनले भने, “जनताको भरोसा दिन प्रतिदिन बढिरहेको छ। अबका पाँच दिन युद्धस्तरमा खट्न सक्यौँ भने नेकपा पहिलो शक्ति बन्नेछ।”

उनले निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने स्पष्ट पार्दै पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *