काठमाडौं । जेन(जी) आन्दोलनसम्बन्धी डकुमेन्ट्री सार्वजनिक भएपछि पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले त्यसप्रति असन्तुष्टि जनाएका छन्। हाल गृह जिल्ला तेह्रथुममा कृषि कार्यमा संलग्न रहेका उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चुनावको पूर्वसन्ध्यामा सामग्री सार्वजनिक गर्नु ‘रणनीतिक चालबाजी’ भएको टिप्पणी गरेका छन्।
हालै जेन(जी) आन्दोलनका प्रसंग समेटिएको डकुमेन्ट्री तथा रिपोर्ट सार्वजनिक रोयटर्स र बिबिसी लण्डनले सार्वजनिक गरेका थिए । सो सामग्रीमा भदौ २३ गते भएको प्रदर्शन र त्यसपछिका घटनाक्रमका दृश्यहरू समावेश छन्। खापुङले भने ती सामग्री एकतर्फी रूपमा चयन गरिएको दाबी गरेका छन्। उनका अनुसार भदौ २३ गतेको प्रदर्शन र भोलिपल्टको घटनामध्ये सीमित समय र स्थानका फोटो–भिडियो जोडेर ‘प्रायोजित’ ढंगले प्रस्तुत गरिएको छ।
उनले कर्फ्यु घोषणा भइसकेपछि सुरक्षा अवस्थाबारे निर्णय गर्ने अधिकार जिल्ला सुरक्षा समितिको हुने उल्लेख गर्दै माथिल्लो नेतृत्वले छुट्टै आदेश नदिने प्रावधान रहेको बताए। “परिस्थितिअनुसार निर्णय स्थानीय संयन्त्रले नै गर्छ,” उनको भनाइ छ। पूर्व आइजिपी खापुङले निर्वाचनको मुखमा जनमत प्रभावित पार्ने उद्देश्यले सामग्री सार्वजनिक गरिएको आरोप लगाएका छन्। “आन्तरिक मामिलामा बाह्य हस्तक्षेपजस्तो देखिने गरी प्रस्तुत गरिएको छ,” उनले प्रतिक्रिया दिएका छन्।
दुई महिना मात्रै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खापुङले आफ्नो कार्यकाललाई लक्षित गरी गरिएको आलोचनालाई “बदनाम गर्ने प्रयास” को संज्ञा दिएका छन्। डकुमेन्ट्री सार्वजनिक भएसँगै जेन(जी) आन्दोलनका घटनाक्रम पुनः चर्चामा आएका छन्। यद्यपि, सम्बन्धित सञ्चारमाध्यमहरूले भने आफ्ना सामग्री तथ्यमा आधारित रहेको जनाउँदै आएका छन्।




