देउखुरी (दाङ)। दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले आफू निर्वाचित भए पाँच वर्षभित्र कार्यान्वयन गर्ने पाँच संकल्प सार्वजनिक गरेका छन्।
‘पाँच वर्षमा पाँच क्रान्ति’ शीर्षकअन्तर्गत उनले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता जनाए। रोजगारी सिर्जना, सडक–सिँचाइ विस्तार र उद्योग प्रवर्द्धनमार्फत आर्थिक तथा पूर्वाधार विकासलाई तीव्र बनाउने योजना उनको संकल्पमा समेटिएको छ।
शिक्षातर्फ गुणस्तरीय तथा सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उल्लेख गरिएको छ। स्वास्थ्य क्षेत्रमा आधुनिक उपकरणसहितका अस्पताल सुदृढ गर्ने र गाउँगाउँमा सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे।
पोखरेलले दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक हिसाबले नमूना जिल्लाका रूपमा विकास गर्ने लक्ष्य राखेको बताउँदै अब दाङवासी “ज्ञापनपत्र बुझाउने ठाउँमा होइन, बुझ्ने ठाउँमा” पुग्नुपर्ने धारणा राखे।




