देश

कुनै तालमेल छैन, आफ्नै एजेन्डामा चुनाव लड्छौँ : पुष्पकमल दाहाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनावी समीकरण नगर्ने स्पष्ट पारेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा दाहालले नेकपा आफ्नै एजेन्डा, संगठन र जनसमर्थनका आधारमा निर्वाचनमा होमिने बताए। “यो निर्वाचनमा नेकपाले कुनै पनि दलसँग समीकरण गर्दैन, आफ्नै एजेन्डा र जनताको साथमा चुनावमा जान्छौँ,” उनले भने।

एक सय ६५ निर्वाचन क्षेत्रमध्ये बागलुङ क्षेत्र नं १ बाहेक अन्यत्र कुनै तालमेल नभएको जानकारी दिँदै उनले व्यापक चुनावी गठबन्धन गर्ने नीति नरहेको प्रस्ट्याए।

दाहालले विगतका कमीकमजोरी सच्याएर सुशासन र समृद्धिको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाउँदै राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने दाबी गरे। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी संयन्त्र र आमजनताको साझा भूमिका आवश्यक रहेको उनले बताए।

जेनजी पुस्ताको भावना सम्बोधन गर्दै संविधान संशोधनमार्फत राजनीतिक स्थिरता कायम गर्न सबै दल, युवापुस्ता र सरोकारवालाबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *