गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनःनिर्माण सम्भव भए पनि आन्दोलनका क्रममा गुमेको जीवन कहिल्यै फर्किन नसक्ने बताएका छन्।
रास्वपा गोरखाले सदरमुकाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा २३ गते गोली चलेपछि मात्र स्थिति भड्किएको दाबी गरे। “सिंहदरबार जलायो, विध्वंस गर्यो भन्ने भ्रम फैलाइएको छ,” उनले भने, “यदि त्यो दिन गोली नचलेको भए केही पनि जल्ने थिएन।”
लामिछानेले सरकारी संरचना जलेकोमा कसैले गौरव नगरेको स्पष्ट पार्दै भौतिक संरचना पुनःनिर्माण गर्न सकिने तर आमाको रित्तिएको कोख कहिल्यै नभरिने उल्लेख गरे। “जो ढल्यो, त्यो फेरि उठ्दैन,” उनले भने।
उनले आफू वा अरू कोही पनि प्रश्नभन्दा माथि नरहेको जिकिर गर्दै जवाफदेहिताबाट भाग्न नहुने धारणा राखे। लामिछानेले सोही दिन पालुङटार नगरपालिकामा आयोजित अर्को चुनावी सभालाई समेत सम्बोधन गरेका थिए।




