बागमती प्रदेश

सिन्धुपाल्चोक १ मा सापकोटाको प्रतिबद्धता, पाँच हजार युवालाई रोजगारी र डिजिटल अभियानसम्म

काठमाडौं । । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव सापकोटाले सिन्धुपाल्चोक १ का मतदातालाई विकासमुखी र परिणाममूखी योजना प्रस्तुत गरेका छन्। उनले पत्रकार सम्मेलनमार्फत जीवन्त संसददेखि डिजिटल सिन्धुपाल्चोक अभियानसम्म, ५ वर्षमा ५ हजार युवालाई प्रत्यक्ष रोजगारी दिने अठोटसमेत सार्वजनिक गरेका छन् । सापकोटाले अघिल्लो ३३ महिनाको संसदीय कार्यकाल स्मरण गर्दै किसान, युवा, विद्यार्थी र स्थानीय सरोकारको विषय निरन्तर उठाएका छन् । विगतमा पनि सापकोटाकै पहलमा ‘विद्यालयमा सांसद, संसदमा विद्यार्थी’ अभियानमार्फत सयौँ विद्यार्थीलाई संसदको प्रक्रियासँग परिचित गराइएको थियो ।

सापकोटाले प्रतिबद्धता पत्रमा नेपाल–चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालन,अरनिको राजमार्गको स्तरोन्नति,जुरे पहिरो पीडितका लागि न्याय सुनिश्चितता, ७ अर्ब रुपैयाँभन्दा बढी बजेटको संस्थागत उपयोग,गुणस्तरीय कानुन निर्माण र जीवन्त संसद,पर्यटन र भौतिक पूर्वाधार विकास, जुगल हिमालको दिनमै भ्रमण सम्भाव्यता, कृषि क्षेत्रमा मल–बीउ र बजार सुनिश्चितता,सीपमूलक प्लस–टु शिक्षा,डिजिटल सिन्धुपाल्चोक अभियान, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता,विपद् व्यवस्थापन, जलस्रोत तथा ऊर्जा विकास,विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्ने उल्लेख गरेका छन् ।

युवा नेता सापकोटाले सांसदको मुख्य भूमिका कानुन निर्माण र नीतिगत निर्णयमा केन्द्रित हुनु पर्नेमा जोड दिएका छन् । उनले विदेशमा रहेका नेपालीले मत हाल्न सक्ने व्यवस्था गर्नका लागि निरन्तर पहल गर्ने बताएका छन् । निर्वाचन क्षेत्रमा सडक संजाल, पूर्वाधार, स्वास्थ्य, शिक्षा र आर्थिक गतिविधि अघि बढाउन सापकोटा सक्रिय देखिएका छन्। बन्द रहेको तातोपानी नाका खोल्ने, जुरे पहिरो पीडितलाई राहत दिने र जुगल हिमालमा पर्यटक प्रवाहलाई सहज बनाउनेमा पनि उनले योगदान दिएका छन्।

मतदाताले सापकोटालाई विकासप्रेमी, सरल र जनमुखी नेताको रूपमा चिनेका छन्। स्थानीय घरदैलो अभियानमार्फत मतदातासँग निरन्तर सम्पर्क राख्दै समस्या बुझ्ने र कार्यान्वयन योग्य योजना अघि राख्ने उनको शैलीले व्यापक जनसमर्थन प्राप्त हुँदै गएको छ । सिन्धुपाल्चोक १ मा युवा नेतृत्व, जनतासँगको निकटता र परिणाममूलक नीति प्रस्तुतिको कारण सापकोटाको चुनावी जित लगभग सुनिश्चित भएको मतदाता र स्थानीय विश्लेषकहरूको बुझाइ छ।

सिन्धुपाल्चोक – १ मा युवा नेता माधव सापकोटाको पक्षमा चुनावी माहोल

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *