काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ । पार्टीले कर्णाली प्रदेशको राजधानी सुर्खेत मा आयोजित कार्यक्रममा वाचापत्र सार्वजनिक गरेको हो ।
वाचापत्र सार्वजनिक कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
रास्वपाले यसअघि सार्वजनिक गरेको प्राथमिकता, वर्तमान राजनीतिक अवस्था र दीर्घकालीन लक्ष्यलाई आधार मानेर वाचापत्र तयार गरिएको जनाएको छ । पार्टीले ‘करार पत्र’मार्फत दलीयकरणको अन्त्य, २०४६ सालयताका सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग गठन, सुशासन प्रवर्द्धन तथा राज्य संयन्त्रमा पारदर्शिता कायम गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ ।
पार्टीले वाचापत्र कार्यान्वयनमार्फत राजनीतिक सुधार, आर्थिक अनुशासन र जनविश्वास पुनःस्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।




