विश्व

चार वर्षपछि शान्ति प्रयास पुनः सक्रिय

रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको करिब चार वर्ष पुग्न लाग्दा मस्को र किएभका प्रतिनिधिमण्डलहरू अमेरिकी पहलमा पुनः वार्ताको टेबलमा फर्किएका छन् । युद्धको चौथो वार्षिकोत्सवभन्दा एक साताअघि जेनेभामा सुरु हुन लागेको यो चरणलाई द्वन्द्वको सम्भावित मोडविन्दुका रूपमा हेरिएको छ । यद्यपि दुवै पक्षका अडान कठोर नै छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो प्रतिनिधिमण्डल स्विट्जरल्यान्ड आइपुगेको जानकारी दिनुभएको छ भने रुसी राज्य समाचार एजेन्सी तासले पनि रुसी टोली पुगेको जनाएको छ । दुई दिनसम्म चल्ने वार्ता बुधबारदेखि औपचारिक रूपमा सुरु हुने अपेक्षा गरिएको छ ।

वार्तामा सबैभन्दा जटिल मुद्दा रूसी नियन्त्रणमा रहेका करिब २० प्रतिशत युक्रेनी भूभागको भविष्य रहने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुशनर प्रतिनिधिमण्डलहरूसँग छलफलमा बस्ने तयारीमा हुनुहुन्छ । संवेदनशीलताका कारण नाम नखुलाउने सर्तमा एपीसँग कुरा गरेका एक स्रोतका अनुसार डोनबास क्षेत्रबारे ‘कठिन’ बहस हुने सम्भावना छ, किनकि मस्कोले अझै पनि किएभलाई पूर्वी क्षेत्रको नियन्त्रण त्याग्न दबाब दिइरहेको छ ।

जेनेभामा सैन्य तहको समानान्तर छलफल पनि हुने भएको छ । अमेरिकी, रुसी र युक्रेनी सैन्य प्रमुखहरूले सम्भावित युद्धविरामको अनुगमन संयन्त्र, असैन्यीकृत क्षेत्रको व्यवस्थापन र प्रत्यक्ष सैन्य सम्पर्क पुनःस्थापनाबारे विचार–विमर्श गर्नेछन् । यसअघि अबु धाबीमा भएको चरणमा यस्ता प्राविधिक विषयमा प्रारम्भिक छलफल भएको थियो ।

तर यथार्थमा प्रगतिको सम्भावना सीमित देखिएको छ । संयुक्त राज्य अमेरिकाले जुनसम्म समाधानको समयसीमा सुझाए पनि दुवै पक्ष मूलभूत क्षेत्रीय मागमा पछि हट्न तयार देखिएका छैनन् । करिब एक हजार २५० किलोमिटर लामो मोर्चामा युक्रेनी सेना ठूलो रुसी बलसँग जुधिरहेको छ । जेलेन्स्कीका अनुसार रुसले हालै १२ क्षेत्रमा करिब ४०० लामो दूरीका ड्रोन र २९ मिसाइल प्रहार गरेको छ, जसमा बालबालिकासहित नौ जना घाइते भएका छन् । ओडिसा बन्दरगाह सहरमा हजारौँ बासिन्दा विद्युत् र पानी सेवाविहीन बनेका छन् ।

जेलेन्स्कीले निरन्तर आक्रमणले शान्ति प्रयास कमजोर बनाएको उल्लेख गर्दै मस्कोलाई ‘जवाफदेही बनाइनु आवश्यक’ रहेको बताउनुभएको छ । उहाँले बिना शर्त र दीर्घकालीन युद्धविरामको अमेरिकी प्रस्तावमा आफूहरू सहमत रहेको दोहो¥याउनुभयो ।

ट्रम्पले जेनेभा बैठकलाई ‘ठूलो वार्ता’ को संज्ञा दिनुभएको छ । वासिङ्टन फर्कँदै गर्दा उहाँले युक्रेनले छिटो वार्तामा सक्रिय हुनुपर्ने बताउनुभएको थियो, यद्यपि उक्त अभिव्यक्तिको सन्दर्भ प्रस्ट पारिएको छैन ।

अमेरिकी पक्षबाट युरोपमा नाटो सेनाका कमान्डर जनरल एलेक्सस ग्रिन्केविच र अमेरिकी सेनाका सचिव डान ड्रिस्कोल सहभागी हुनुहुनेछ । ग्रिन्केविचले रुसी सेना प्रमुख जनरल भ्यालेरी गेरासिमोभसँग उच्चस्तरीय संवाद सुरु गर्ने अपेक्षा गरिएको छ । यसअघि संयुक्त राज्य अमेरिकाले रुससँग प्रत्यक्ष सैन्य सम्पर्क पुनःस्थापित गरेको जनाएको थियो ।

जेनेभामा यी वार्ताहरू भइरहेका बेला अमेरिकी अधिकारीहरूले इरानसँग पनि स्विस सहरमै अप्रत्यक्ष संवाद अघि बढाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *