विश्व

युक्रेन अझै पश्चिमी सहयोगमा निर्भर, सैनिक कमि र पलायनले चुनौती

स्विजरल्याण्डको डावोसमा सम्पन्न ‘विश्व आर्थिक मञ्च’मा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपका नेताहरूको प्रतिक्रियालाई ढिलो, असङ्गठित र अपर्याप्त भएको भन्दै कडा आलोचना गर्नुभएको छ । उहाँले रुसको आक्रमण सुरु भएको करिब चार वर्षपछि पनि युरोपले पर्याप्त कदम नचालेको बताउनुभयो ।

जेलेन्स्कीले आफ्नो भाषणमा युरोपलाई ‘विश्व शक्ति बन्न आवश्यक छ’ भन्दै अन्य देशहरूको तुलनामा ढिलो निर्णय गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो । उहाँले अमेरिकाको भेनेजुएला र ईरानसँगको साहसी कदमहरूसँग तुलना गर्दै युरोपले ढिला प्रतिक्रिया दिएको बताउनुभयो ।

“गत वर्ष म डावोसमा भाषण सकिँदा भनेको थिएँ – युरोपले आफैँको रक्षा गर्न जान्नुपर्छ । एक वर्ष बितिसक्यो, तर केही बदलिएको छैन । हामी अझै उही कुरा दोहोर्याउन बाध्य छौँ ।” उहाँले यसलाई फिल्म ‘ग्राउन्डहग डे’ सँग तुलना गर्नुभयो, जसमा पात्रले एकै दिन बारम्बार जीवन बिताउँछ ।

युरोपले युक्रेनलाई आर्थिक, सैन्य र मानवीय सहयोग गरेको भए पनि सबै यूरोपेली सङ्घका सदस्य राष्ट्रहरूले समर्थन गरेका छैनन् । युरेनले युरोपका राजनीतिक असहमति र ढिला निर्णयले समस्यामा परेको भन्दै गुनासो गरेका छन् ।

ट्रम्पसँगको बैठक

जेलेन्स्कीले डावोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग करीब एक घण्टा लामो निजी बैठक पनि गर्नुभयो । ट्रम्पले बैठकलाई ‘अत्यन्तै राम्रो’ भन्नुभएको छ भने जेलेन्स्कीले यसलाई ‘उत्पादक र अर्थपूर्ण’ बताउनुभयो ।

ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो,“मसँग धेरै राम्रो बैठकहरू भइसकेका छन्, तर अझै समाधान देखिँदैन । दुवै पक्षले सम्झौता गर्न चाहन्छन् र सबैले समझदारीका प्रयास गरिरहेका छन् ।”

रुसको सेना करिब २० प्रतिशत युक्रेन कब्जा गरिसकेको छ । युक्रेनले आफ्नो हतियार उत्पादन बढाएको भए पनि पश्चिमी देशहरूको सहयोग अझै आवश्यक छ । देशमा सैनिक कमि छ र हाल करिब दुई लाख जना सैन्यजनको पलायन भएको छ ।

युरोपमा जेलेन्स्कीको आलोचना

जेलेन्स्कीले युरोपलाई मुख्य निर्णयमा ढिला हुनु, सुरक्षा खर्च कम हुनुलाई रोक्न नसक्नु जस्ता विषयमा आलोचना गर्नुभयो । “युरोप अझै भूगोल, इतिहास र परम्परामा आधारित महसुस हुन्छ, वास्तविक राजनीतिक शक्ति बन्न सकेको छैन ।”

शान्ति वार्ता प्रयास

अमेरिकी मध्यस्थतामा युक्रेन–रुसबीच शान्ति सम्झौता प्रयास भइरहेको छ । ट्रम्पका विशेष प्रतिनिधि र उहाँका परिवारका सदस्यले मस्कोमा वार्ता गर्नुभएको छ । जेलेन्स्कीले पूर्वी युक्रेनमा रुसद्वारा कब्जा गरिएका भूभागको भविष्य अझै तय नभएको बताउनुभयो ।

उहाँ दुई–दिने त्रिपक्षीय बैठक संयुक्त अरब इमिरेट्समा हुने बताउनुभयो । जेलेन्स्कीले भन्नुभयो,“रुसले पनि सम्झौता गर्न तयार हुनुपर्छ, केवल युक्रेन मात्र होइन ।”

उहाँले ट्रम्पलाई अमेरिकी निर्मित प्याट्रियट हवाई रक्षा प्रणाली उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो र यस्तै थप प्रणालीको माग गर्नुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *