राजनीति

राष्ट्रिय सभाको बैठक आज, मन्त्रिपरिषद् पुनर्गठन र तीन अध्यादेश पेश हुने

काठमाडौं । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । सिंहदरबारस्थित सभाहलमा दिउँसो १:१५ बजेका लागि बैठक आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन र कार्यभारसम्बन्धी पत्रहरूको जानकारी अध्यक्षले सदनलाई गराउने कार्यसूची छ । साथै, राष्ट्रिय सभामा रिक्त रहेका सदस्य पद र त्यससम्बन्धी सूचनाबारे पनि जानकारी दिइनेछ ।

बैठकमा संसदीय समितिका दुई प्रतिवेदन पेश हुनेछन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेश गर्ने तयारी गर्नुभएको छ । ती अध्यादेशमा ‘मतदाता नामावली ऐन (संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।

बैठकले विभिन्न समयमा निधन भएका पाँच पूर्वसांसद तथा मन्त्रीहरूको सम्मानमा शोक प्रस्ताव पारित गर्नेछ । शोक प्रस्ताव पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य ऋषिकेश गौतम, पूर्वमन्त्री एवं संविधान सभा सदस्य मोहम्मद आफ्ताव आलम, राष्ट्रिय सभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ, पूर्वमन्त्री एवं पूर्वसांसद आमोदप्रसाद उपाध्याय र पूर्वमन्त्री एवं पूर्वसांसद होमनाथ दाहालको निधनप्रति प्रस्तुत गरिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *