कीर्तिपुर (काठमाडौँ)। आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले यसपटक नयाँलाई मौका दिएका छन् । विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका १३ जनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टबाहेक सबै पहिलोपटक उम्मेदवार बनेका हुन् ।
यसअघि तीनपटक सो क्षेत्र जितेको नेपाली कांग्रेसले स्थानीय कार्यकर्ता एवं काठमाडौँ जिल्ला सदस्य हिमाल कार्कीलाई उठाएको छ । निवर्तमान सांसद राजेन्द्रकुमार केसीले आफू यसपटक नउठ्ने घोषणा गरेपछि कार्कीलाई टिकट मिलेको हो ।
नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनुभएका मजदुर नेता एवं केन्द्रीय सदस्य विनोद श्रेष्ठ यसअघि समानुपातिक कोटाबाट संविधानसभा सदस्य बन्नुभए पनि प्रत्यक्षतर्फ पहिलोपटक उम्मेदवारी दिनुभएको हो । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले रुपा महर्जनलाई पहिलोपटक उम्मेदवार बनाएको छ ।




