राँझा (बाँके)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १६, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट नारायण गौडेल, नेकपा (एमाले)बाट सूर्यप्रसाद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेश चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीपकुमार शाह उम्मेदवार रहेका छन्।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सुधांशु कोइराला, नेकपा (एमाले)बाट मोहम्मद इस्तियाक राई, नेपाली कम्युनिष्ट पार्टीबाट दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिराज देवकोटा उम्मेदवार रहेका छन्।
यसैगरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट अमरसिंह पुन, नेकपा (एमाले)बाट सुमन मल्ल, नेपाली कम्युनिष्ट पार्टीबाट दीपक जीएम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तारकसिंह थारु उम्मेदवार रहेका छन्।
बाँकेमा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारी गाउँपालिकामा, क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जस्थित रामलिला मैदानको पशु सेवा तालिम केन्द्रमा र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय खजुरास्थित कपास विकास समितिको कार्यालयमा स्थापना गरिएको छ।




