ढोरपाटन (बागलुङ)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई निर्वाचन क्षेत्रमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बागलुङ क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बर २ मा १२ जनाको उम्मेदवारी परेको हो।
क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याण आचार्य, मङ्गोल नेशनल अर्गनाइजेशनबाट गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील खड्का र नेकपा (एमाले)बाट हिराबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना, नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेकपा (माओवादी)का टेकबहादुर केसी उम्मेदवार रहेका छन्। यस क्षेत्रमा ४८ मतदानस्थलका ११५ मतदान केन्द्रमा ९८ हजार ८४६ मतदाता छन्।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा (एमाले)बाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, मङ्गोल नेशनल अर्गनाइजेशनबाट जुनबहादुर थापा, मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, नेशनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी जनता समाजवादी पार्टीबाट पूर्णबहादुर घर्तीमगर, नेकपा (माओवादी)बाट लोकेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन उम्मेदवार रहेका छन्। यस क्षेत्रमा ५९ मतदानस्थलका ११५ मतदान केन्द्रमा ९५ हजार ३३५ मतदाता रहेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए।




