बेलबारी (मोरङ)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन्।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा २२ र क्षेत्र नम्बर ६ मा २० जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट खड्गबहादुर फागु, नेकपा एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिष्ट पार्टीबाट कुलप्रसाद साम्वा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट यज्ञमणि न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका थिए।
क्षेत्र नम्बर २ मा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, एमालेबाट दिलिप बगडिया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रवीर राई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णकुमार कार्की उम्मेदवार रहेका छन्। यस क्षेत्रमा चार जना स्वतन्त्र उम्मेदवार पनि छन्। गत निर्वाचनमा यहाँबाट ऋषिकेश पोखरेल निर्वाचित भएका थिए।
क्षेत्र नम्बर ३ मा १६ दल र पाँच स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख उम्मेदवारमा एमालेका ईरान राई, कांग्रेसका सुनिलकुमार शर्मा, नेपाली कम्युनिष्ट पार्टीका देउमान सम्बाहाम्फे र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की रहेका छन्।
क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदी, कांग्रेसका गुरुराज घिमिरे र एमालेका जीवन घिमिरेसहित २१ जनाको उम्मेदवारी परेको छ।
क्षेत्र नम्बर ५ मा कांग्रेसका फुलकुमार लालवानी, एमालेका मनोज अग्रवाल, नेपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डल र राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झासहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी क्षेत्र नम्बर ६ मा कांग्रेसका डा. शेखर कोइराला, एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्यसहित २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।




