मुख्य समाचार

बालेन शाहको राजीनामापछि काठमाडौं महानगरको नेतृत्व सुनिता डंगोलको काँधमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेतृत्वमा अचानक परिवर्तन आएको छ । मेयर बालेन शाहले पदबाट राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले व्यवस्था गरेअनुसार मेयर पद रिक्त भएमा उपमेयरले स्वतः कार्यबाहक प्रमुखको भूमिका निर्वाह गर्ने प्रावधान छ । सोही कानुनी व्यवस्थाअनुसार डंगोल महानगरको कार्यबाहक प्रमुख बनेकी हुन् ।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जाने तयारीअघि नै पदबाट राजीनामा दिएका थिए । उनी आजै पार्टी कार्यालय पुग्ने कार्यक्रम रहे पनि राजीनामासम्बन्धी निर्णयमा केही समय दोधारमा परेका कारण निर्धारित समयभन्दा ढिला भएको बताइएको छ ।

यसैबीच, रास्वपा केन्द्रीय कार्यालयमा नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । बालेन शाह रास्वपामा प्रवेश गरी झापा–५ बाट आगामी निर्वाचन लड्ने तयारीमा रहेको चर्चा छ । हाल उनी रास्वपाका वरिष्ठ नेताका रूपमा सक्रिय छन् । मेयरको राजीनामासँगै महानगरको प्रशासनिक नेतृत्व सम्हालेकी सुनिता डंगोलको भूमिका अब थप महत्वपूर्ण बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *