देश

स्वास्थ्य बीमा संकटबीच बोर्ड नेतृत्व परिवर्तन, निर्देशक रघुराज काफ्लेले गरे पदत्याग

काठमाडौं । गहिरिँदै गएको स्वास्थ्य बीमा कार्यक्रमको संकटका बीच स्वास्थ्य बीमा बोर्डका निर्देशक डा। रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । तनहुँका काफ्ले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यकालमा स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए । तर बीमा कार्यक्रम सञ्चालनमै प्रश्न उठ्ने अवस्थामा पुगेपछि उनको पदत्याग आएको हो ।

हाल स्वास्थ्य बीमा बोर्डमाथि सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ । भुक्तानी नपाएको भन्दै ठूला सरकारी अस्पतालहरूले बीमा कार्यक्रम अन्तर्गतको सेवा बन्द गर्ने सूचना नै सार्वजनिक गरिसकेका छन् भने केही अस्पताल बन्द गर्ने तयारीमा छन् । यता अर्थ मन्त्रालयले हालकै संरचनामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न थप बजेट उपलब्ध गराउन नसक्ने स्पष्ट पारेपछि बोर्ड थप दबाबमा परेको थियो । आवश्यक स्रोत सुनिश्चित नहुँदा बीमा कार्यक्रम दीर्घकालीन रूपमा टिक्न नसक्ने अवस्था बनेको देखिन्छ ।

सरकारको स्पष्ट नीति र पर्याप्त सहयोग नहुँदा जनस्वास्थ्यसँग जोडिएको महत्त्वपूर्ण कार्यक्रम नै धरापमा परेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । निर्देशक काफ्लेको राजीनामाले राज्यकै उदासीनताका कारण स्वास्थ्य बीमा कार्यक्रम असफलतातर्फ धकेलिँदै गएको बहसलाई थप चर्काएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *