देश

उज्यालो नेपाल पार्टी सिन्धुपाल्चोकको पहिलो जिल्ला भेला सम्पन्न, पार्टीलाई देशको निर्णायक शक्ति बनाउन एकजुट हुन आग्रह

काठमाडौं । उज्यालो नेपाल पार्टीले सिन्धुपाल्चोक जिल्लाको प्रथम उज्यालो जम्काभेट कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिका–६, बौद्धस्थित हेरिटेज प्लाजमा शुक्रबार आयोजित उक्त भेलाले पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

ओमराज लामाको सभापतित्वमा सम्पन्न भेलामा पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सो कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले आगामी दिनमा देशभरीका सबै जिल्लामा संगठन निर्माण र सबै जिल्लामा आगामी फागुण २१ मा हुने निर्वाचनमा उम्मेदबार बनाउने बताएका छन् । अध्यक्ष घिसिङले देश परिवर्तनका लागि सबैलाई उज्यालो नेपाल प्रवेश गर्न आग्रह समेत गरेका छन् ।  कार्यक्रममा बागमती प्रदेश संयोजक प्रविन वन विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

भेलामा स्वागत मन्तव्य ललितकुमार खड्काले राखेका थिए, भने कार्यक्रम संचालन बिकास ग्याबा तामाङले थिए  । कार्यक्रममा एनआरएन बेलायतका प्रतिनिधि निमावाङ्गेल लामा र डिविसिङ तामाङले पार्टीको भावी दिशा र संगठन मजबुत बनाउने विषयमा धारणा राखेका थिए। उक्त भेटघाट तथा भेलाको क्रममा विभिन्न दल परित्याग गरी करिब ३०० जना उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्, जसलाई पार्टीले उत्साहजनक उपलब्धिका रूपमा लिएको छ।

यस्तै भेलाले ओमराज लामाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला समिति गठन गरेको छ। नयाँ समितिले सिन्धुपाल्चोक जिल्लामा पार्टीको संगठन विस्तार र जनसम्पर्कलाई तीव्र बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनतर्फ उज्यालो नेपाल पार्टीले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारीमा छ। पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुकका लागि अनलाइन आवेदन खुला गरिसकेको छ। तर केही महत्वपूर्ण क्षेत्रहरूमा अझै योग्य उम्मेदवारको खोजी जारी रहेको छ। अध्यक्ष कुलमान घिसिङका अनुसार, पार्टी अन्य राजनीतिक शक्तिसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमको आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्नेछ।

प्रदेशगत विवरणअनुसार, कोशी प्रदेशका धनकुटा–१, मोरङ–२ र उदयपुर–२ः मधेस प्रदेशको महोत्तरी–१, बागमती प्रदेशका सिन्धुपाल्चोक ,रामेछाप–१ र रसुवा–१ गण्डकी प्रदेशका गोर्खा–२, मनाङ–१, मुस्ताङ–१, म्याग्दी–१ र बागलुङ–१ लुम्बिनी प्रदेशका पाल्पा–१, पाल्पा–२, गुल्मी–१, गुल्मी–२, प्युठान–१, रोल्पा–१, दाङ–१ र दाङ–२, कर्णाली प्रदेशको दैलेख–२, सुदूरपश्चिम प्रदेशका दार्चुला–१, बझाङ–१, बैतडी–१, डडेलधुरा–१ र अछाम–१ मा पार्टीले योग्य उम्मेदवारको खोजी गरिरहेको छ।

पार्टीले देशलाई नयाँ दिशा दिन सक्ने, निष्कलङ्क र विकासप्रेमी उम्मेदवारलाई उम्मेदवारीका लागि आह्वान गरेको छ। संगठन विस्तार भएका क्षेत्रमा छनोट प्रक्रिया सहज भए पनि दुर्गम वा रणनीतिक क्षेत्रहरूमा विशेष प्राथमिकता दिने जनाएको छ । । उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनमा राष्ट्रिय स्तरमा आफ्नो पहिचान बलियो बनाउन र जनतामा विश्वास कायम राख्ने लक्ष्य राखेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *