देश

भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान गरेका छन् । २८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणसम्बन्धी आवश्यक कार्यलाई संस्थागत, दीगो र परिणामुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न जारी रहने बताए ।

मन्त्री अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । उनले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।

“प्रविधिमा आधारित बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सक्दा पूर्वतयारीमा मद्धत पुग्न गई जनधनको क्षति कम हुन्छ”, गृहमन्त्री अर्यालले भने, “भूकम्पीय सुरक्षाका लागि सबै तहका सरकार र नागरिकको तयारी महत्वपूर्ण हुन आउँछ । भूकम्पबाट सुरक्षित घर, समुदाय एवं राष्ट्र निर्माण हामी सबैको जिम्मेवारी बनेको छ ।”

उनले भूकम्पलगायत विपद्बाट सुरक्षित रहन व्यवस्थित र दिगो विकासको अवधारणामा आधारित कार्यक्रमको प्रभावकारी र परिणामुखी कार्यान्वयन आजको आवश्यकता भएको बताए । नेपालले विगतका तुलनामा भूकम्पलगायत विपद् प्रतिकार्यमा क्षमता विकास गरिरहेको जनाउँदै गृहमन्त्री अर्यालले भूकम्पलगायत विपद्सम्बन्धी बुझाइका दायरा पनि विस्तार हुँदै गएको बताए ।

“पूर्वतयारी तथा बलियो संरचना निर्माणको चेतना विस्तार भएको छ । स्थानीय तहहरूले भवनसंहिताको पालना गराउने कार्यलाई अनिवार्य गराउँदै लगेको छन् । नागरिकमा पनि नक्सा पास गरेर मापदण्डअनुसारको घर निर्माण गर्नुपर्छ भन्ने सोच विकास हुँदै गएको छ”, उनले भने ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी र सतर्कता अनिवार्य रहेको बताए । “विकास निर्माणमा विपद् जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा नसोची दिगो विकास सम्भव छैन”, उनले भने, “भूकम्पको जोखिम न्यूनीकरण र पूर्वतयारी अनिवार्य सर्त हो ।”

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भूकम्पलगायत प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि सङ्घ, प्रदेश र स्थानीय तहको सरकारबीच समन्वय आवश्यक रहेको बताइन् । ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नाराका साथ आज भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *