काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको विवादकाबीच संस्थापन पक्षका नेता एनपी साउदले महामन्त्रीद्वयले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रमलाई विशेष महाधिवेशन मान्न अस्वीकार गरेका छन्। उनले उक्त कार्यक्रमलाई औपचारिक महाधिवेशन होइन, सामान्य भेला मात्र भएको स्पष्ट दाबी गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै साउदले नियमित महाधिवेशन स्थगन र नयाँ मिति तोक्ने निर्णयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा स्वयं सहभागी रहेको स्मरण गराए। त्यसैले त्यही निर्णयपछि आयोजना गरिएको कार्यक्रमलाई विशेष महाधिवेशन भन्न नमिल्ने उनको तर्क छ।
“पुसका लागि तय गरिएको १५औं नियमित महाधिवेशन प्रमुख नेताहरूकै सहभागितामा स्थगित गरिएको हो,” साउदले भने, “नयाँ मिति तय गर्ने बैठकमा गगन–विश्वप्रकाश पक्ष पनि सहभागी थियो। नियमित अधिवेशन स्थगित भएपछि उहाँहरूले बोलाउनुभएको यो कार्यक्रम भेलाभन्दा माथि जान सक्दैन।”
यता विशेष महाधिवेशन पक्षले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइसकेको दाबी गरिरहेको छ। यसको प्रतिकारस्वरूप सभापति शेरबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठक आह्वान गर्दै पार्टी कार्यालय सानेपामा जमघट गरेको छ। तर दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिलाइका कारण अझै सुरु हुन सकेको छैन।
यसैबीच, सहमतिको वातावरण बनाउन विशेष महाधिवेशन पक्षले आजका लागि तय गरिएको मतदान प्रक्रिया एक दिन पछाडि सार्ने तयारी गरेको छ। कांग्रेसभित्रको विवाद संवादमार्फत समाधान खोज्ने प्रयास जारी रहे पनि, भृकुटीमण्डपमा भइरहेको गतिविधिको वैधानिकतामाथि प्रश्न झन् गहिरिँदै गएको छ।
पार्टी एकताको चर्चा भइरहेकै बेला विशेष महाधिवेशन र भेलाबीचको यो बहसले कांग्रेसको आन्तरिक संकट अझै जटिल बन्दै गएको संकेत गरेको छ।




