राजनीति

सानेपामा तरुण दल भेला, पार्टी विभाजन रोक्न चेतावनी

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान सुरु गरेको छ ।

विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइरहेका बेला संस्थापन पक्षनिकट तरुण दलका नेता–कार्यकर्ताहरू मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएर पार्टी एकताको माग गर्दै दबाब दिएका हुन् ।

उनीहरूले पार्टीलाई विभाजनतर्फ होइन, एकतावद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै महामन्त्री गगनकुमार थापालाई एकताको नेतृत्व लिन आग्रह गरेका छन् ।

तरुण दलका सभापति विद्वान गुरुङले महामन्त्री थापा सिंगो पार्टीको नेता बन्न सक्ने क्षमता राख्ने भएकाले उनलाई पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गरिएको बताए ।

उनले पार्टी सभापति शेरबहादुर देउवा पनि पार्टी एकताको पक्षमा रहेको र यही कारण दुई पक्षबीच निरन्तर वार्ता भइरहेको उल्लेख गरे ।

तरुण दलका नेता–कार्यकर्ताहरूले पार्टी विभाजनको अवस्था आए पनि पार्टी कार्यालय सानेपामा कसैलाई कब्जा गर्न नदिने चेतावनीसमेत दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *