राजनीति

निर्वाचनमा बहुमत ल्याएर नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउँछौँ: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत प्राप्त गरी देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार गठन गर्ने दाबी गरेका छन्।

आइतवार जेनजी रेडफोर्सले आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा बोल्दै उनले पार्टीको अबको मुख्य लक्ष्य निर्वाचनमार्फत बहुमत हासिल गर्नु रहेको बताए। बहुमत आएपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गरी देशलाई वैज्ञानिक समाजवादको दिशामा लैजाने उनको भनाइ थियो।

खनालले सम्पूर्ण नेपाली जनताको नेतृत्व अब नेपाली कम्युनिष्ट पार्टीले गर्ने दाबी गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन देशव्यापी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिए।

“नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई करोड ९२ लाख जनतालाई एकतावद्ध गर्दै हामी नयाँ समाजवादी क्रान्तितर्फ अघि बढ्दैछौँ। तर अहिलेको प्राथमिकता निर्वाचन अभियान हो,” उनले भने, “यो निर्वाचनमा देशभर हाम्रा उम्मेदवारलाई विजयी गराएर परिवर्तनकारी संसद निर्माण गर्नु र बहुमतसहित नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउनु आजको हाम्रो कार्यनीतिक लक्ष्य हो। त्यसपछि मात्र वैज्ञानिक समाजवादतर्फ अघि बढ्न सकिन्छ।”

उनले पार्टी नेतृत्वका लागि युवालाई तयार पार्ने अभियानमा पार्टी सक्रिय रहेको जानकारी दिँदै केन्द्रीय संरचनामा कम्तीमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्य रहेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *