वालिङ (स्याङ्जा)। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको छ। चालु आर्थिक वर्षदेखि लागू हुने यो कार्यक्रमले घट्दो जनसङ्ख्या दरलाई स्थिर पार्ने उद्देश्य राखेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।
उनका अनुसार, “गाउँपालिकाभित्र जनसङ्ख्या घट्दै गएको छ, जसले भविष्यमा गाउँमा मानिसको सङ्ख्या कम हुने खतरा बढाउँछ। जनसङ्ख्या सन्तुलन कायम राख्न र परिवारलाई सकारात्मक प्रेरणा दिन यो कार्यक्रम आवश्यक देखियो।”
कार्यविधिअनुसार, गाउँपालिकामा स्थायी बसोबास गर्ने र चालु आर्थिक वर्षको साउनपछि तेस्रो सन्तान जन्माएको परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। निवेदनमा नागरिकताको प्रतिलिपि, तीनवटै सन्तानको जन्म दर्ता प्रतिलिपि, विवाह दर्ता प्रतिलिपि र बसाइँसराइको हकमा प्रमाण आवश्यक हुनेछ।
गाउँपालिकाले स्वीकृत कार्यविधिअनुसार तीन सन्तान जन्माउने परिवारलाई प्रतिमहिना रु ४ हजार आर्थिक सहायता प्रदान गर्नेछ। यो सहायता दुई वर्षसम्म पोषण तथा सन्तानप्रतिको सकारात्मक प्रेरणा स्वरूप जारी रहनेछ।
अध्यक्ष थापाले बताए अनुसार, “कार्यक्रमले सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी बढाउने र जनसङ्ख्यालाई दीर्घकालीन रूपमा सन्तुलित राख्न सहयोग पुर्याउनेछ।”




