काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी आमनिर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिमा फेरि परिवर्तन गर्ने तयारीमा जुटेको छ। यसअघि अपनाइएको प्राइमरी इलेक्सनको मोडालिटीबाट पार्टी नेतृत्व असन्तुष्ट देखिएसँगै नयाँ प्रक्रिया तय गरिने संकेत देखिएको हो।
पार्टीले उम्मेदवारीका लागि दरखास्त आह्वान गरिसकेको भए पनि छनोट प्रक्रिया अझै स्पष्ट छैन। मंगलबार राति सचिवालय बैठकपछि जारी सूचनामा उम्मेदवारी दिने अन्तिम समय पुस २६ गते राति १२ बजेसम्म तोकिएको छ। तर, सूचनामा ‘प्राइमरी इलेक्सन’ भन्ने शब्द प्रयोग नगरिएको छैन, बरु ‘आन्तरिक उम्मेदवार छनोट प्रक्रिया’ भनिएको छ। यसले यसपटक प्रारम्भिक निर्वाचन नहुने सम्भावनालाई बल दिएको छ।
यसअघि उपसभापति डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरिसकिएको थियो। प्राइमरी इलेक्सनको मोडालिटीमा सिफारिस आवश्यक नपर्ने भएकाले यस पटक उम्मेदवार छनोट सिफारिस र सहमतिमा आधारित हुने बुझाइ पार्टीभित्र छ। हालसम्म रास्वपामा पाँच दर्जनभन्दा बढी आकांक्षीले उम्मेदवारीका लागि आवेदन दिएको स्रोतले जनाएको छ।
रास्वपाले अघिल्लो निर्वाचनमा समानुपातिक तर्फ प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छानेको थियो। तर, सो प्रक्रिया विवादरहित हुन सकेन। नयाँ मोडालिटीमा प्राइमरीलाई ५० प्रतिशत मात्रै मतभार दिई बाँकी ५० प्रतिशतका लागि जटिल मापदण्ड राखिएको थियो, जुन प्रत्यक्ष निर्वाचनमा लागू गर्न व्यवहारिक नभएको नेताहरूको बुझाइ छ। त्यसमाथि बालेन समूह र उज्यालो नेपाल पार्टीसँगको एकतापछि सहमतिमा उम्मेदवार छान्नुपर्ने दबाब थपिएको छ।
रास्वपाका सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार छनोटको पुरानो विधिमा परिमार्जन आवश्यक भएको बताए। उनका अनुसार पार्टीमा नयाँ समूहहरू समेटिनु परेकाले अघिल्लो संरचना जस्ताको तस्तै लागू गर्न सकिने अवस्था छैन।
उज्यालो नेपालका नेताहरूले पनि प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट सम्भव नभएको बताउँदै आएका छन्। उनीहरू प्रत्यक्षतर्फ ३० प्रतिशत सिटमा दाबी गरिरहेका छन्। तर, रास्वपा नेताहरू भने प्रतिशतको भागबण्डाभन्दा चुनाव जित्न सक्ने सक्षम उम्मेदवारलाई प्राथमिकता दिने पक्षमा छन्।
प्राइमरी इलेक्सन नहुने संकेतसँगै रास्वपामा अन्य दलहरूजस्तै आकांक्षीहरूको गतिविधि तीव्र बन्दै गएको छ। केही स्थानमा स्थानीय कमिटीहरूले सिफारिससमेत गर्न थालेका छन्। कञ्चनपुर–२ मा सचिवालय सदस्य दिपक बोहोरालाई क्षेत्रीय कमिटीले सर्वसम्मत सिफारिस गरेको छ।
यता, कतिपय आकांक्षीहरूले औपचारिक टिकट नपाउँदै आ–आफ्नो क्षेत्रमा प्रचारप्रसार सुरु गरिसकेका छन्। काठमाडौं–३ बाट उपसभापति कुलमान घिसिङको उम्मेदवारी लगभग निश्चित जस्तै देखिएको छ। यसबीच पार्टी सभापति रवि लामिछानेले पार्टीले आधिकारिक रूपमा टिकट नदिँदै उम्मेदवार घोषणा नगर्न सबै आकांक्षीलाई आग्रह गरेका छन्।




