काठमाडौं । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगले पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताएकी छन् ।
निर्वाचन प्रशिक्षक प्रशिक्षण दुई दिने कार्यशाला गोष्ठी समापन समारोहमा उनले आगामी निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको एक अत्यन्त संवेदनशील र निर्णायक चरण भएको उल्लेख गरेकी हुन् ।
आयुक्त डा तुलाधरले भनिन्, “लोकतन्त्रको मूल आधारनै निर्वाचन हो, र निर्वाचनको विश्वसनीयता, निष्पक्षता तथा पारदर्शिता सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी आयोग र यसमा संलग्न सम्पूर्ण जनशक्तिको काँधमा रहन्छ ।” उनका अनुसार, स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली अद्यावधिक तथा मतपत्र छपाइको कार्य प्रारम्भ भइसकेको तथा निर्वाचनका लागि आवश्यक सामग्रीमध्ये ३७ प्रकारका सामग्री जिल्लास्तरबाट विकेन्द्रीकृत रूपमा खरिद गर्ने तथा ११ प्रकारका सामग्री सार्वजनिक निकायबाट खरिद गर्ने योजना कार्यान्वयनको चरणमा पुगेको छ ।
सबै १६५ निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको नियुक्ति सम्पन्न भइसकेको छ । निर्वाचन आयुक्त तुलाधरले निर्वाचन व्यवस्थापनमा खटिने जनशक्तिको समयमै परिचालन, जिम्मेवारीको स्पष्टता, तटस्थ आचरण तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना निर्वाचनको विश्वसनीयताको आधारस्तम्भ भएको बताइन् ।




