देश

सञ्चारमन्त्री खरेलद्वारा दिवङ्गत पत्रकार रजकको परिवारसँग छलफल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्वारा हालै सहिद घोषणा गरिएका दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गरेका छन्।

उनले आज तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर परिवारसँग भेटघाट र छलफल गरे। त्यस अवसरमा उनले रजकको शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवङ्गत पत्रकार रजक सबै नेपालीबीच अमर रहने बताए।

पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्दागर्दै ज्यानै बलिदान दिएकाले उच्च सम्मान गर्दै सहिद घोषणा गरिएको र उनको योगदान जनताले कहिल्यै बिर्सन नसक्ने मन्त्री खरेलको भनाइ थियो। उनले सरकार सधैँ पत्रकार रजकका परिवारको सहयोगका लागि तयार रहने बताए।

सुरेशका दाइ रमेश रजकले सरकारले भाइलाई सहिद घोषाणा गरेर सरकारले न्याय दिएको बताए। उनले करिब सात महिनासम्म ताकेता गर्दापनि विगतको सरकारले कुनै सुनुवाइ नगरेको भन्दै वर्तमान सरकारले सहिद घोषणा गरेर परिवारलाई सान्त्वना मिलेको भन्दै आभार व्यक्त गरे।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजतन्त्र पक्षरको प्रदर्शनको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियो पत्रकार रजकको मृत्यु भएको थियो। प्रदर्शनकारीले आगजनी गरेको घरमा दृश्य कैद गर्ने क्रममा उनको जलेर मृत्यु भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *