काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गरेका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको रोडम्यापसँग मेल खानेगरी उनले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने जिकिर गरेका हुन् ।
शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले सर्वपक्षीय अन्तरिम सरकार बनाएर मात्रै निर्वाचनमा जान उपयुक्त हुने बताए ।
उनले वर्तमान सरकार अँध्यारो कुनाबाट बनेको अवैध भन्दै राजनीतिक दलहरूले नै सरकारको नेतृत्व गरेर मात्रै निर्वाचन गराउन सकिने तर्क समेत गरे ।
महासचिव विप्लवले भने ‘आज देशमा अनौठो प्रकारले सरकार बनेको छ । न यो आन्दोलनको मर्मअनुसार छ । न संवैधानिक प्रक्रिया अनुसारको छ । अँध्यारो कुनाबाट खडा गरिएको यो अवैध सरकारलाई हाम्रो समर्थन छैन र हुन सक्दैन । त्यसैले हामीले के भनेका छौ भने–देशलाई एउटा निकास चाहिएको छ । त्यो निकासको निम्ति राजनीतिक शक्तिहरूले नै नेतृत्व गर्नुपर्दछ । यो देशलाई यहाँसम्म ल्याएको राजनीतिक शक्तिहरूले नै हो । योगदान गरेको पनि राजनीतिक शक्तिहरूले नै भएको हुनाले सर्वपक्षीय सरकार, अन्तरिम सरकार बनाएर सहज ढङ्गले संविधानलाई पुनर्लेखन गर्नुपयो भने पनि गरेर नेपालका सबै श्रमिक, जाति, वर्ग, क्षेत्र, उत्पीडनमा परेका सबै नयाँ पुस्ता, युवा जेनजी देश, विदेशमा रहेका नेपाली नागरिकहरूको चाहनालाई सम्बोधन गरेर मात्रै चुनावतिर जान आवश्यक छ ।’
महासचिव विप्लवले एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा दिएको अडानका कारण यसमाथि देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरूले हमला गरिरहेको बताए ।




