काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला आफू भागेको भन्ने आरोपलाई खारेज गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिप्रश्न गरेका छन्।
बिहीबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले आन्दोलनका समयमा आफू भागेको भन्ने टिप्पणीहरू अनावश्यक र तथ्यहीन भएको बताए। “नभागेको भए के गर्नुहुन्थ्यो ? के गर्थे त सुशीला जी वा अरूले ?” भन्दै उनले प्रधानमन्त्रीलाई सोझो चुनौती दिए। उनले आन्दोलनताका केही अभिव्यक्ति र आवाज रेकर्डमा आएको दाबी गर्दै, “तर पनि उहाँहरूको मुखबाटै सुन्न चाहन्छु,” भने।
ओलीले आन्दोलनका दिनहरू राजधानी नछोडेको दाबी गर्दै, आफू काठमाडौं नजिकैकै घरमा बसेको र डेरा मिलाइएपछि गुन्डुमा सरेको स्पष्ट पारे। उनका अनुसार, “मैले डेरा खोजेँ, पाएपछि सरेँ। डेरा नसर्दा ‘यहाँ छु’ भनेर डाँडाडाँडामा गएर माइक बजाउन त सकिँदैन। २ गते गुन्डु पुगेँ र त्यहीँबाट निस्किएँ।”
त्यस क्रममा उनले उडानस्थल बन्द भएको चर्चा गर्दै, “एयरपोर्ट बन्द थियो रे,” भन्दै आफू सामान्य अवस्थामा नै राजधानी वरपर रहेकाे बताएका छन्।




