देश

पुनर्बहाली भएका कार्यकारी निर्देशक शाक्य र मन्त्री घिसिङबीच सिंहदरबारमा भेट

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्।

शाक्य सिंहदरबारस्थित मन्त्रालय पुगेपछि दुवैबीच प्राधिकरणको वर्तमान अवस्था, कामको गतिको आवश्यकता र आगामी कार्यदिशाबारे विस्तृत कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ।

भेटमा मन्त्री घिसिङले प्राधिकरणलाई अहिले पूर्ण क्षमतामा काम गराउनुपर्ने समय आएको उल्लेख गर्दै कुनै किसिमको सम्झौता वा ढिलासुस्ती अस्वीकार्य हुने चेतावनी दिएका थिए।

यस क्रममा घिसिङले आफूले विगतमा शाक्यलाई सल्लाहमै जल तथा ऊर्जा आयोगमा सरुवा गरेको स्मरण गराउँदै अदालतको आदेशपछि प्राधिकरणमा फर्किएको अवस्थामा ‘दम्भ’ प्रदर्शन नगर्न सुझाव दिएका थिए। “अदालतले फर्कायो, त्यसमा मेरो केही छैन। तर अदालतको आदेश बोकेर आफूखुसी चल्न नखोज्नु होला,” उनले स्पष्ट चेतावनी दिएका थिए।

कार्यकारी निर्देशक शाक्यले मन्त्रीसँग विगतमा पनि सहकार्य गरेर काम गरेको उल्लेख गर्दै यस पटक पनि सहकार्यमै काम हुने विश्वास व्यक्त गरेका छन्।

मन्त्री घिसिङले प्राधिकरणलाई आवश्यक सामग्रीको अभाव रहेको र परिणाममुखी कार्यअनुसरण अनिवार्य भएको बताए। “मलाई रिजल्ट चाहिन्छ। राम्रो नतिजा आएमा शत्रुलाई पनि जिम्मेवारी दिन सक्छु, तर नतिजा नभए फेरि सोच्नुपर्ने हुन्छ,” उनले भन्दै प्राधिकरणलाई गति दिन निर्देश दिएको स्रोतले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *