देश

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह नियन्त्रणमा, १३ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । वैदेशिक रोजगारीका लागि न्याय खोज्दै विभाग पुगेका सेवाग्राहीलाई लक्षित गर्दै अवैध रूपमा बार्गेनिङ र ठगी गर्दै आएका १३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरू वैदेशिक रोजगार विभाग परिसरमै सक्रिय भई पीडितलाई घेराबन्दी गर्ने, अनावश्यक झण्झट सिर्जना गर्ने तथा ‘मिलाइदिने’ बहानामा रकम माग्ने कार्यमा संलग्न थिए।

प्रवक्ता एसपी काजीकुमार आचार्यले श्रम स्वीकृतिका लागि विभाग पुगेका सेवाग्राहीलाई डर, दबाब र भ्रममा पारेर बिचौलिया प्रयोग गर्न बाध्य बनाउने गरेको जानकारी दिए। पीडितले दिएको उजुरीका आधारमा पीडकविरुद्ध प्रक्रिया अघि बढाइदिने भन्दै उनीहरूले मोलमोलाइसमेत गर्ने गरेको प्रहरीको भनाइ छ।

घटनामा संलग्न व्यक्तिहरूको नाम अनुसन्धान जारी रहेकाले हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। विभाग परिसरमा देखिएको यस्तो गतिविधिले वैदेशिक रोजगारीका नाममा भइरहेका ठगी र अवैध चलखेलप्रति कडा निगरानी आवश्यक रहेको संकेत गर्ने प्रहरीको निष्कर्ष छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *