काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा प्रतिशोधस्वरूप गरिएको भन्ने आलोचना असत्य भएको दाबी गरेका छन्। उनले शाक्यको सरुवा उनकै आग्रहपछि भएको बताउँदै आफू परिणाममुखी कार्यशैलीबाट नहट्ने स्पष्ट संकेत दिए।
नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा घिसिङले आफ्नो सबै निर्णय संस्थागत सुधारका लागि भएको दाबी गरे। “मैले कसैप्रति प्रतिशोध राखेर काम गरेको छैन। सही मान्छे सही पदमा बस्नुपर्छ, नत्र परिणाम आउँदैन,” मन्त्री घिसिङले भने।
‘मैले सकिनँ भनेपछि सरुवा गरेको हो’
शाक्यलाई सरुवाको निर्णय किन गरियो भन्ने प्रश्नमा मन्त्री घिसिङले भने,“शाक्यजी आफैले ‘मैले सकिनँ, मलाई सरुवा गर्नुस्’ भनेपछि निर्णय लिइएको हो। सल्लाहकै आधारमा गरिएको सरुवा अदालतसम्म पुगेको जस्तो देखिएको छ, तर यो व्यक्तिगत विषय होइन—संस्थागत काम हो।”
नतिजा नदिने र निर्णय लिन नसक्ने प्रबन्धकहरूले संगठन रोकिने भएकाले यस्ता पदमा बसिरहन पाउन नहुने स्पष्ट मान्यता आफूले अपनाएको मन्त्री घिसिङले बताए। सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्ने उनले बताए। तर परिणाम नदेखाउने र काम नगर्नेहरूलाई कारबाही हुनैपर्ने भन्दै स्पष्ट चेतावनी पनि दिए। “निर्णय नलिने र काम नगर्ने हो भने प्रोजेक्टहरू कहिल्यै अघि बढ्दैनन्। त्यसैले दायित्व नसम्हाल्नेहरूलाई हामी सुविधासहित बस्न दिँदैनौँ,” मन्त्री घिसिङले भने।
मन्त्री घिसिङले निर्माण व्यवसायी, परामर्शदाता र सरकारी निकाय सबैले आफ्नो भूमिकामा गम्भीर हुनुपर्नेमा जोड दिए। उनका अनुसार विकास आयोजनामा ढिलाइ हुँदा देशले ठूलो आर्थिक घाटा बेहोर्नुपर्छ, साथै रोजगारीका अवसर पनि गुम्छन्। “सबै पक्षबीच समन्वय मजबुत भए मात्रै आयोजनाहरू समयमै पूरा हुन्छन्,” मन्त्री घिसिङले भने।




