काठमाडौं । निराश नागरिकता, थाकेका पुराना दल र उक्लँदै गरेको वैकल्पिक शक्तिको मनोविज्ञानबीच ‘जेनजी’ समूहमाथि चर्को जिज्ञासा र उत्तिकै आशंका दुवै बढिरहेका छन्। सुदूरपश्चिम प्रदेश संयोजक खेमराज साउदले १६ वटै संघीय निर्वाचन क्षेत्रमा “सक्षम, योग्य र भिजन भएका” उम्मेदवार उठाउने दाबी गरेपछि अब जेनजीको अवधारणा केवल सडक आन्दोलनबाट चुनावी प्रतिस्पर्धाको कठोर परीक्षातर्फ धकेलिएको छ।
जेनजीले आफूलाई परिवर्तनको अग्रपंक्ति भनेर परिचय दिइरहे पनि नेपालको जटिल निर्वाचन भूगोल, स्थानीय सत्ता संरचना र पुराना दलको जरा काट्ने काम त्यति सरल छैन। त्यसमाथि—जेनजी आन्दोलनको संगठनात्मक स्पष्टता, नेतृत्व संरचना, जिम्मेवारी बोध र नीतिगत स्थिरतामाथि पनि प्रश्न उठिरहेका छन्।
आन्दोलनबाट राजनीतिक मेनस्ट्रीमतर्फ– तर कति परिपक्व ?
साउद भन्छन्—जेनजीले सरकारसँग जनआन्दोलनको मान्यता, आन्दोलनका माग र युवापुस्ताका अधिकार विषयक सम्झौता ड्राफ्टमा काम गरिरहेको छ। तर आन्दोलनलाई “संस्थागत गर्ने” भनिए पनि, त्यसको वैधानिकता, नेतृत्व जिम्मेवारी र राजनीतिक दायित्वको खाका अझै अस्पष्ट नै छ।
उमेर हद घटाउने माग स् व्यवहारिक कि लोकप्रिय ?
जेनजीले सांसद हुने उमेर २५ वर्षबाट २१ वर्षमा झार्न माग गर्दै आएको छ। तर—संविधान संशोधनको प्रक्रिया,दलहरूको सहमति,कानुनी पूर्वाधार
यी कुनै पनि पक्ष तत्काल सम्भव देखिँदैन। यी माग व्यावहारिकभन्दा बढी आवेशपूर्ण लोकप्रिय नाराजस्तै भएको विश्लेषकहरू बताउँछन्। साउदले सुदूरपश्चिमले “सौतेनी व्यवहार” भोगेको दाबी गर्छन्। यो दाबी तथ्यसँग मेल पनि खान्छ—स्वास्थ्य सेवा कमजोर, पूर्वाधार अपूरो , शिक्षा–रोजगारको संकट, युवाहरूको सामूहिक पलायन तर प्रश्न छ—जेनजीले जुन “नयाँ भिजन” को कुरा गर्छ, के त्यसको विस्तृत नीति, कार्यक्रम र स्रोतको स्पष्ट रोडम्याप छ ?
वैकल्पिक शक्तिहरूले विगतमा देखाएको समस्या यही हो—भावना बलियो, नीतिगत संरचना कमजोर। साउद भन्छन्—“१६ वटै क्षेत्रमा योग्य र भिजन भएका उम्मेदवार उठाउने प्रयास गर्छौं ।” यो आदर्श सुन्दर छ, तर व्यवहारिक प्रश्न अझै कठोर छ—कुन मापदण्डअनुसार योग्य ?




