देश

सरकारी भवनमा आगजनी प्रकरण– पूर्वसांसद अमनलाल मोदीका पूर्वस्वकीय ताजिम अन्सारीसहित ५ जना पक्राउ

काठमाडौं । मोरङ जिल्लाका तीन सरकारी कार्यालय—जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी कार्यालय—मा भएको आगजनी तथा तोडफोड प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये ताजिम अन्सारी पूर्वसांसद अमनलाल मोदीका स्वकीय रहेकाले घटनाले थप चर्चा पाएको छ। अन्य पक्राउ परेकामा महेश नेपाल, आवास पौडेल, राजीव यादव र अरुण साह सोनार रहेका छन्।

अन्सारीले जेन्जी आन्दोलनका समयमा स्वयं सहभागी भई सरकारी संरचनामा आगजनी गरेको भिडियो टिकटकमा राखेपछि उनी विवादमा तानिएका थिए। भिडियो सार्वजनिक भएपछि उनले केही समयपछि उक्त सामग्री हटाएपछि सतही रूपमा बेपत्ता भएका थिए। पछि माओवादी केन्द्र र अन्य दलबीच एकता प्रक्रियापछि उनी पुनः सक्रिय देखिन थालेका थिए।

त्यही क्रममा अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी घटनामा प्रहरीको टोपी लगाएर खुशी व्यक्त गरेको अर्को भिडियोसमेत सार्वजनिक भएको थियो। प्रहरीका अनुसार अन्सारी समूह विराटनगरस्थित विभिन्न सरकारी संरचनामा गरिएको आगजनीमा पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

आन्दोलनको नाममा अन्सारीसहितका व्यक्तिहरूले युवालाई उक्साएर अराजक गतिविधितर्फ धकेलेको आरोप पनि प्रहरीले लगाएको छ। यो घटनासँग सम्बन्धित मोरङका सरकारी भवनमा आगजनी गर्ने २१ जनालाई यसअघि नै पक्राउ परिएको प्रहरीले जनाएको छ। सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने जो–कोहीमाथि कानुनी कारबाही हुने प्रहरीको दाबी छ।

यता, नेपाली कम्युनिस्ट पार्टीतर्फबाट सक्रिय अन्सारी सोमबार विराटनगरमा हुने पार्टी सभाका लागि आर्थिक संकलनको जिम्मेवारीसमेत पाएकाले उनी विभिन्न शैक्षिक संस्थामा चन्दा माग्दै हिँडेको स्रोतले बताएको छ। तर पूर्वसांसद अमनलाल मोदीले भने अन्सारी आफू सँग सम्बन्धित पदबाट पहिले नै हटिसकेको दाबी गर्दै, “यदि प्रमाणसहित घटनामा संलग्न देखिन्छ भने कानुनअनुसार अनुसन्धान होस्,” भन्ने टिप्पणी गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *