काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी परित्याग गरेसँगै नयाँ राजनीतिक दल गठनको तयारीलाई औपचारिक रूपमा अघि बढाएका छन्।
परियारसहितका नेताहरू नयाँ दल गठनका विषयमा विविध राजनीतिक समूहसँग निरन्तर परामर्श गरिरहेको बताइएको छ। उनले प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की नेतृ मानुषी यमी भट्टराईलगायतसँग छलफल अघि बढेको जानकारी दिए।
“नयाँ दल गठनको गृहकार्य भइरहेको छ, नेतृत्वबारे भने अन्तिम टुङ्गो लागेको छैन,” परियारले बताए, “प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी भट्टराईलगायत नेतासँगको सहकार्यबारे छलफल भइरहेको छ। यसबारे आजै विज्ञप्तिमार्फत जानकारी दिने तयारी छ।”
यसअघि परियारले नेता जनार्दन शर्मासँग पनि परामर्श गरेका थिए। नेतृ मानुषी भट्टराईले राजनीतिक पुनर्गठनका लागि छलफल चलिरहेको पुष्टि गर्नुभयो।




