काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला बोलाएको छ। पार्टीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै त्यसको पुनर्स्थापनाका लागि आन्दोलनमा सक्रिय छ।
एमाले संसदीय दलको बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा मुलुकको वर्तमान असामान्य परिस्थितिका साथै लोकतान्त्रिक र संवैधानिक निकासबारे छलफल हुने छ।
एमाले संसदीय दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले बैठकबारे जानकारी दिँदै भने, “मुलुकमा विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि संसदीय दलको भूमिकामा छलफल आवश्यक भएकाले बैठक आह्वान गरिएको हो।”
पार्टीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै विभिन्न तहमा विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ। कात्तिक २२ गते वडा कार्यालय, कात्तिक २५ गते गाउँपालिका, र कात्तिक २९ गते जिल्ला सदरमुकाममा प्रदर्शन तथा भेला आयोजना गरिएको थियो। काठमाडौँ उपत्यकामा मंसिर ६ गते विशाल प्रदर्शन गर्ने तयारी भइरहेको छ।
साथै, प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सांसदहरूको हस्ताक्षर संकलन समेत भइरहेको छ। एमालेसँगै नेपाली कांग्रेस पनि हस्ताक्षर संकलनमा जुटेको छ। विगत भदौ २७ गते जेनजी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको थियो।




