काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज बिहान केही समय विद्युत् आपूर्ति बन्द भएको छ । स्युचाटार–टेकु १३२ केभी लाइनको बुसबार कनेक्सनका लागि बिहान ७ बजेदेखि १० बजेसम्मका लागि विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरहरू प्रभावित भएका छन् । यसबाट कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, बागमती, भैंसेपाटी, रिङरोड र सानेपाका उपभोक्ताले विद्युत् कटौतीको सामना गर्नुपरेको छ ।
विद्युत् आपूर्ति बन्द हुँदा बिहानको समयमा जनजीवन केही प्रभावित भएको थियो । प्राधिकरणले यसअघि नै सूचना जारी गरी उपभोक्ताहरूलाई वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको थियो ।




