काठमाडौं । पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बन्दै गर्दा माओवादीमा ३५ जनाको केन्द्रीय समिति रहेको थियो। युद्धकालीन समयमा प्रचण्डका निकट सहयोगी रहेका नेताहरूको समयक्रमसँगै भाग अलग भएको छ।
२०७१ सालमा नेता पोष्टबहादुर बोगटीको निधन भएपछि हालसम्म जनार्दन शर्मा, राम कार्की लगायत १८ जना नेताले प्रचण्डको साथ छोडिसकेका छन्। केही समय पार्टी छोडेर फर्किएका नेताहरू समेत गणना गर्दा, अहिले प्रचण्डसंग निरन्तर साथ दिने संख्या मात्र १० रहेको देखिन्छ।
प्रचण्डसँग नरहेकाहरूमा मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेल, इन्द्रमोहन सिग्देल, हरिभक्त कँडेल, नेत्रविक्रम चन्द, खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला, हिसिला यमी, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र बिष्ट, हेमन्तप्रकाश ओली, गोपाल किराती, जनार्दन शर्मा र राम कार्की रहेका छन्।
पार्टी छोडेर फर्किएका नेता भने देव गुरूङ, पम्फा भुषाल, मात्रिका यादव, देवेन्द्र पौडेल, हितमान शाक्य र कुलप्रसाद केसी हुन्।
प्रचण्डसँग निरन्तर साथ दिने १० नेतामा प्रचण्ड स्वयं, कृष्णबहादुर महरा, वर्षमान पुन, हरिबोल गजुरेल, हितराज पाण्डे, अग्नि सापकोटा, दिनानाथ शर्मा, चन्द्रप्रकाश खनाल, नन्दबहादुर पुन र शक्तिबहादुर बस्नेत रहेका छन्।




