देश

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, सरसफाइ र स्वास्थ्यमा गम्भीर समस्या

नेपालगञ्ज । नेपालगञ्ज कारागारमा कैदीबन्दीहरूको संख्या क्षमताभन्दा दोब्बर पुगेको खुलेको छ । एडभोकेसी फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशले संयुक्त रूपमा गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो ।

अनुगमन प्रतिवेदनअनुसार, कारागारमा ३५० जना कैदीबन्दी राख्ने क्षमता रहेकामा हाल ८०० जना कैदीबन्दी तथा थुनुवा छन् । अत्यधिक भीडका कारण कैदीबन्दीहरूको बसोबास, स्वास्थ्य र सरसफाइमा गम्भीर समस्या देखिएको छ ।

कारागार प्रशासनका अनुसार यहाँ रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषध कारोबार, जबरजस्ती करणी र कर्तव्यज्यानसम्बन्धी मुद्दाका हुन् ।

जेलर प्रकाश ढुङ्गानाले महिला कैदीबन्दीका लागि छुट्टै गृह नभएकाले उनीहरूलाई बर्दिया कारागारमा पठाउने तयारी भइरहेको जानकारी दिए । जेनजी आन्दोलनका क्रममा केही कैदीबन्दी भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाउँदा कैलालीका २४ वर्षीय उमेश बम घाइते भएका थिए । अहिले उनको अवस्था सामान्य भई पुनः कारागार फर्किएको बताइएको छ ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतमले कैदीबन्दीहरूको भीडका कारण बसोबास र सरसफाइमा चुनौती देखिएकाले तत्काल सुधार आवश्यक रहेको बताए । उनले बाँके जिल्लामा महिला कैदीबन्दीका लागि छुट्टै भवन नहुँदा व्यवस्थापनमा थप कठिनाइ भएको पनि उल्लेख गरे ।

अनुगमन टोलीका अनुसार, कारागारमा पिउने पानी, सरसफाइ र स्वास्थ्य उपचारका अत्यावश्यक सुविधा मात्र छन् । स्वच्छ पानीका लागि समरसेल र मिनरल वाटरको व्यवस्था गरिएको छ भने ए र बी ब्लकमा गरी ११ वटा सार्वजनिक शौचालय सञ्चालनमा छन् ।

कारागारभित्र कैदीबन्दीका बालबालिकाका लागि प्राथमिक विद्यालय सञ्चालनमा रहेको र कक्षा १ देखि ५ सम्म ९८ जना कैदीबन्दीले अध्ययन गरिरहेका जेलर ढुङ्गानाले जानकारी दिए ।

कारागारको प्रशासनिक भवन जीर्ण अवस्थाका कारण कर्मचारीहरू असुरक्षित महसुस गर्दै बाहिरबाटै काम गर्न बाध्य छन् । अदालतबाट कैदीपुर्जी ढिलो आउने, पुनरावेदन म्यादमा ढिलाइ हुने र कैदीबन्दीका उजुरी समयमा सम्बोधन नहुने जस्ता समस्या पनि रहेका अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीमा इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्य, उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रभातकुमार ठकुरीलगायत सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *