काठमाडौँ ।युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र त्यसमा निर्माण भएका संरचना प्रयोग गर्दै आएको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बहालको बक्यौता रकम बुझाउन ताकेता गरेको छ।
आज प्रकाशित सार्वजनिक सूचनामार्फत बक्यौता रकम नबुझाए उक्त कम्पनीले प्रयोग गरिरहेका सम्पूर्ण भवन तथा सामान जफत गरिने चेतावनी दिएको छ।
सूचनामा उल्लेख छ कि खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले नेपाल स्काउटको जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको भए पनि लामो समयदेखि बहाल बुझाएको छैन, जसका कारण स्काउटलाई अपूरणीय क्षति पुगेको छ।
स्काउटले सात दिनभित्र सम्पूर्ण बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गर्दै चेतावनी दिएको छ— “तोकेको समयभित्र बहाल नबुझाए नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्टबीचको सम्झौता अनुसार तथा मुलुकी देवानी संहिता, २०७४ का दफा ६१९, ६२०(४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गरिनेछ।”
स्काउटको जग्गा नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्काको स्वामित्वमा रहेको कम्पनी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले कब्जा गर्दै आएको आरोप पहिलेदेखि लाग्दै आएको छ।





