देश

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित नौ कम्युनिस्ट पार्टीहरू आज एक हुँदै

काठमाडौँ ।लामो तयारी र छलफलपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ वटा कम्युनिस्ट पार्टीहरू आज एक हुँदैछन्। काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष समारोहमार्फत नयाँ पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ को घोषणा गरिने माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिएका छन्।

नवगठित पार्टीको चुनाव चिह्न ‘पाँच कुने तारा’ रहने सहमति भएको छ। हिजो माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो।

यो एकतालाई नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ मोडका रूपमा हेरिएको छ। तर माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले एकताको विरोध गर्दै छुट्टै अभियान सुरु गरिसकेको छ। त्यस्तै, एकीकृत समाजवादीका नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललगायतका केही नेताहरू एकता प्रक्रियामा सहभागी नहुने भएका छन्।

यसबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलसहित असन्तुष्ट नेताहरूलाई पनि एकता प्रक्रियामा सहभागी गराउने प्रयास भइरहेको बताएका छन्। उनले सबै पक्षलाई समेटेर बलियो कम्युनिस्ट शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आजको घोषणा समारोहले नेपालको राजनीतिक परिदृश्यमा नयाँ प्रभाव पार्ने र नवगठित पार्टीले सामना गर्नुपर्ने चुनौतीहरू आगामी दिनमा स्पष्ट हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *