काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनसम्बन्धी नीति चाँडै परिमार्जन हुने बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मङ्गलवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घिसिङले विद्युतीकरणको दायरा विस्तार र विद्युत् खपत बढाउने सरकारी नीति प्रभावकारी बनाउन सो केन्द्रलाई विशेष ध्यान दिन निर्देशन दिए ।
उनका अनुसार सरकारले यातायात, खाना पकाउने र अन्य दैनन्दिन क्षेत्रमा विद्युत् प्रयोगलाई प्रवर्द्धन गर्ने नीति लिएको छ । उनले भने, “विद्युतीय परिवहन र कुकिङतर्फ विस्तार गरेर हामीले डिमान्ड क्रियशन गर्नुपर्छ । अहिले ग्रिड गाउँगाउँ पुगेको छ, त्यसलाई उपयोग गरेर इन्डक्शन कुकिङ र इलेक्ट्रिक ट्रान्सपोर्टेशनलाई अघि बढाउनुपर्छ ।”

मन्त्री घिसिङले ऊर्जा दक्षता (Energy Efficiency) लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना तयार पार्नुपर्ने आवश्यकता पनि औंल्याए । साथै, चार्जिङ स्टेसनसम्बन्धी केही नीतिगत सुधार आवश्यक रहेको र सरकारले चाँडै अर्को बोर्ड बैठकमार्फत उक्त नीति परिमार्जन गर्ने जानकारी दिए ।
उनले निजी क्षेत्रलाई ‘विन्ड इनर्जी’ (हावाबाट ऊर्जा उत्पादन) क्षेत्रमा लगानी गर्न आह्वान गर्दै आवश्यक सहयोगका लागि सरकार तयार रहेको स्पष्ट पारे । “विन्ड इनर्जी नेपालको सम्भावनापूर्ण क्षेत्र हो, यसमा निजी क्षेत्रले पहल गर्नुपर्छ, सरकार साथ दिन्छ,” मन्त्री घिसिङले भने ।
कार्यक्रमका अवसरमा मन्त्री घिसिङले नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय सहयोग पुर्याएको भन्दै जर्मन सरकारप्रति धन्यवाद पनि व्यक्त गरे ।




