काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणाको गेट अगाडि गएराति गोली चलेको छ। गोली लाग्दा होटलका सुरक्षागार्ड सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोली चलाउने समूह घटनापछि फरार छन् र उनीहरूको खोजी कार्य जारी छ। अहिलेसम्म गोली चलाउनेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार घटना होटल निर्वाणाको क्यासिनोमा सुरु भएको विवादको परिणाम हो। उनका अनुसार, “क्यासिनोभित्र दुई समूहबीच विवाद भएपछि ती व्यक्ति बाहिर निस्किए र होटलको गेट अगाडि आएर एक समूहले गोली चलायो।”
गोली प्रहारमा संलग्न तीन जना फरार रहेको पुष्टि गर्दै एसपी क्षेत्रीले घटनामा संलग्नहरूको खोजीका लागि प्रहरीले सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको बताए।घटनापछि प्रहरीले होटल वरिपरि सुरक्षा कडाइ गरेको छ भने क्यासिनोमा रहेका केही व्यक्तिहरूसँग सोधपुछ पनि भइरहेको छ। घाइते सुरक्षागार्डको अवस्था सामान्य रहेको र उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।




