कोशी प्रदेश

भोजपुरको देउराली उद्यान आकर्षक स्थल

भोजपुर। भोजपुर नगरपालिका–९ मा निर्माण गरिएको देउराली उद्यान हाल जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ। स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासले यो स्थान जिल्लाको नयाँ पहिचान बन्दै गएको छ।

उद्यानको संरक्षण र सरसफाइमा बिहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेको क्लबका सचिव रिपेश भुजेलले जानकारी दिनुभयो। युवाहरूले राष्ट्रिय झण्डा, फूलका गमला र बस्नका लागि फलैँचा निर्माण गरी उद्यानलाई आकर्षक र व्यवस्थित बनाएका छन्। प्रवेशद्वारमा स्थापना गरिएको खुकुरीको प्रतिमाले आगन्तुकको ध्यान झन् बढी तान्ने गरेको छ। उक्त प्रतिमा भोजपुर नगरपालिकाको सहयोगमा निर्माण गरिएको हो।

क्लबका युवाहरूले राष्ट्रिय झण्डाको नियमित हेरचाह र समय समयमा फेरबदल गर्दै उद्यानलाई सधैं स्वच्छ र आकर्षक बनाएका छन्। उनीहरूको सक्रियताबाट प्रेरित भई अन्य समाजसेवीहरूले पनि व्यक्तिगत पहलमा फलैँचा निर्माण र सजावटमा सहयोग गरेका छन्।

देउराली उद्यानको सुरुआती अभियान सञ्चालन गर्नुभएका युवा प्रकाश किरातका अनुसार युवाहरूको निरन्तर प्रयास र विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगले उद्यानलाई व्यवस्थित स्वरूप दिइएको हो।

सुन्दर प्राकृतिक दृश्यले सजिएको यो उद्यान अहिले फुर्सदको क्षण बिताउने र दृश्यावलोकन गर्ने प्रमुख स्थल बनेको छ। बिहान र साँझ यहाँ दर्जनौँ आगन्तुकहरू प्रकृतिको आनन्द लिन आउने गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *